१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

प्रतिनिधिसभा सदस्यको शपथ बिहीबार, मातृभाषामा शपथ लिने सांसदले सूचना दिनुपर्ने

 सोमवार, पुस ४ २०७९  

काठमाडौं । प्रतिनिधिसभामा नयाँ निर्वाचित सदस्यको शपथ यही पुस ७ गते बिहीबार हुने भएको छ । सङ्घीय संसद् सचिवालयका महासचिव डा भरतराज गौतमका अनुसार सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा यही पुस ७ गते बिहीबार दिनको १ बजे प्रतिनिधिसभा सदस्यको शपथ ग्रहण हुनेछ ।

नेपालको संविधानको धारा ८८ बमोजिम सङ्घीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलो पटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने भन्ने व्यवस्था रहेको छ ।

सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथ खुवाउने व्यवस्था छ । ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथ ग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउनेछन् ।

शपथ ग्रहणका लागि निर्वाचन आयोगबाट प्राप्त प्रतिनिधिसभा सदस्य पदको प्रमाणपत्र, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपी एवं हालसालै खिचेको पासपोर्टसाइजको फोटो दुईप्रतिसहित उपस्थित हुन सङ्घीय संसद् सचिवालयले आग्रह गरेको छ । राष्ट्रिय पोशाक वा आआफ्नो सांस्कृतिक पहिचान झल्कने पोशाकमा उपस्थित भईदिनसमेत सचिवालयले आग्रह गरेको छ ।

प्रतिनिधिसभाका कुनै सदस्यले आफ्नो मातृभाषामा शपथ लिन चाहेमा त्यस्तो सदस्यले शपथको व्योहोरा आफ्नो मातृभाषामा अनुवाद गरी सो अनुवादको प्रतिसहित सङ्घीय संसद् सचिवालयमा उपलब्ध गराउन आग्रह पनि गरिएको छ ।

मातृभाषामा शपथ लिने सांसदहरुले ३ दिन अगावै सूचना दिनुपर्ने अभ्यास छ । यही अभ्यास अनुसार सूचना दिने समय कम्तिमा तीन दिन राखेर शपथको मिति तय गर्न लागिएको हो ।

संसद सचिवालयले यही पुस ६ वा ७ गते शपथ ग्रहणको कार्यक्रम राख्ने तयारी गरेको छ । त्यसभन्दा अगावै निर्वाचित २७५ सदस्यमध्ये सबैभन्दा जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनुपर्छ । जेष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिएर अन्य सांसदहरुलाई शपथ खुवाउँछन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । त्यस अनुसार यही पुस १० गतेभित्र सरकार बन्नेछ । नयाँ सरकार बन्नु अगावै संसद सचिवालयले सांसदहरुको शपथ ग्रहणको कार्यक्रम राख्न लागेको छ ।

प्रतिक्रिया सबै