९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

कांग्रेस संसदीय दलको नेतामा देउवा निर्वाचित, झन्डै ७२ प्रतिशत सांसद गगनको विपक्षमा

 बुधबार, पुस ६ २०७९  

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा शेरबहादुर देउवा निर्वाचित भएका छन् । महामन्त्री गगनकुमार थापालाई ३९ मतान्तरले पराजित गर्दै देउवा कांग्रेस संसदीय दलको नेतामा निर्वाचित भएका हुन् ।

देउवाले ६४ मत पाएका छन् भने गगनले २५ मत पाएका छन् । निर्वाचनमा सबै ८९ जना सांसदहरुले मतदान गरेका थिए ।

नेपाली कांग्रेस संसदीय दलको निर्वाचनमा सांसद माया राईले अस्पतालबाटै भोट हालेकी छन् । उनी सुत्केरी भएर ओम अस्पतालमा भर्ना भएकी छन् ।

निर्वाचन समितिका प्रतिनिधिहरु अस्पतालमै पुगेर उनको मत संकलन गरेका थिए । गगन थापालाई नेता शेखर कोइराला, उपाध्यक्ष धनराज गुरुङ, महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेल लगायतले समर्थन गरेका थिए ।

देउवाले झन्डै ७२ प्रतिशत मत पाएका छन् । संसदीय दलको निर्वाचनमा निकटतम् प्रतिस्पर्धी महामन्त्री गगनले २८.०८ प्रतिशत मत पाउँदा देउवाले ७१.९१ प्रतिशत मत पाएका हुन् ।

प्राप्त मतपरिणामले देउवा पार्टीका साथै संसदीय दलमा अत्यधिक बहुमतमा रहेको पुनः पुष्टि भएको हो । पार्टीको १४ औं महाधिवेशनबाट देउवा भारी बहुमतका साथ विजयी भएका थिए । यससँगै निर्वाचन समितिले देउवालाई विजयी घोषणा गरेको छ ।

‘नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को धारा ५ बमोजिम संसदीय दलको नेता पदको लागि आज सम्पन्न निर्वाचनमा संसदीय दलको नेता पदका उम्मेदवार माननीय गगन कुमार थापाले जम्मा २५ मत प्राप्त गर्नु भएको र माननीय शेरबहादुर देउवाले जम्मा ६४ मत प्राप्त गर्नु भएकोले संसदीय दलको विधानको धारा ५ (४) बमोजिम दलका सम्पूर्ण सदस्य संख्याको ५० प्रतिशत भन्दा बढी सदस्यको मत माननीय शेर बहादुर देउवाले प्राप्त गर्नु भएकोले नेपाली कांग्रेस संसदीय दलको नेता पदमा निर्वाचित हुनु भएको घोषणा गरिन्छ’, निर्वाचन समितिका संयोजक भीष्मराज आङ्देम्बेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

संसदीय दलको नेतामा देउवालाई रामचन्द्र पौडेललगायतले सहयोग गरेका थिए भने थापालाई शेखर कोइरालालगायतका नेताहरूको समर्थन थियो ।

प्रतिक्रिया सबै