३ जेष्ठ २०८१, बिहीबार Thursday 16 May, 2024

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त

 आइतवार, पुस १० २०७९  

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्रीमा नियुक्त भएका छन् । आइतबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् ।

संविधानको धारा ७६ को (२) अनुसार प्रचण्डलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । प्रचण्डले दोस्रो ठूलो दल नेकपा एमालेसहित सात दल र ३ स्वतन्त्र गरी १६९ जना सांसदको समर्थन जुटाएर प्रधानमन्त्रीका लागि राष्ट्रपति समक्ष दाबी पेस गरेका थिए ।

प्रचण्ड यससँगै तेस्रोपटक प्रधानमन्त्री बनेका हुन् । सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् । राष्ट्रपतिका प्रेस विज्ञ टीका ढकालका अनुसार राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीको शपथ सोमबार ४ बजे तय गरेको हो । प्रचण्ड यसअघि २०६५ र २०७३ मा ९/९ महिनाको अवधि प्रधानमन्त्री बनेका थिए ।

प्रचण्ड कक्षा १० मा पढ्ने बेलादेखि राजनीतिक चासो राख्ने गर्थे । उनी २०२८ सालमा कम्युनिस्ट पार्टीमा आबद्ध भई २०४२ सालमा नेकपा मशालको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य बनेका हुन् ।

त्यसपछि २०४६ सालको जनआन्दोलनअघि मशालको महासचिव बने । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको जनयुद्धको नेतृत्व गरेका दाहाल २०५८ मा नेकपा माओवादीको अध्यक्ष भए भने २०५८ मा जनमुक्ति सेनाको सर्वोच्च कमान्डर पनि बने । त्यसयता लगातार पार्टी नेतृत्वमा रहेका दाहाल २०७५ सालमा एमालेसँगको पार्टी एकीकरणपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को अध्यक्ष पनि बने ।

प्रचण्डले पहिलो संविधानसभा २०६४ मा रोल्पा र काठमाडौं १० बाट निर्वाचित भएका दोस्रो संविधानसभा २०७० मा सिरहा ५ बाट जितेका थिए । २०७४ सालमा प्रतिनिधिसभा सदस्यमा चितवन ३ बाट निर्वाचित भएका उनले यसपटक गोरखा-२ पुगेर त्यहाँबाट जितेका हुन् ।

माओवादी शान्ति प्रक्रियामा आएपछि पहिलोपटक भएको संविधान सभाको चुनावमा माओवादी ठूलो भएपछि २०६५ सालमा प्रचण्ड नौ महिनाप्रधानमन्त्री भएका थिए ।

त्यसपछि २०७३ सालमा पुन प्रधानमन्त्री बने । पहिलो र अहिले तेस्रोपटक प्रधानमन्त्री बन्दा प्रचण्डको मूल सत्ता साझेदार एमाले बनेको छ । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा उनको मुख्य सत्तासाझेदार दल कांग्रेस थियो ।

यस्तो छ राष्ट्रपति कार्यालयको विज्ञिप्ति

प्रतिक्रिया सबै