१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

डीएसपी ठगबहादुर केसी पक्राउ, निवासबाट ३५ तोला सुन र २५ लाख बरामद

 सोमवार, पुस ११ २०७९  

काठमाडौं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रधान कार्यालयको निर्देशनमा काठमाडौंबाट आएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले आइतबार साँझ केसीलाई निवासबाटै पक्राउ गरेको हो । केसीले भने आफूलाई बदनाम गराउन खोजिएको बताएका छन् ।

इलाका प्रहरी कार्यालयबाट जिल्ला प्रहरी कार्यालय कास्कीमा सरुवा भएका केसी सोमबार रमाना लिई जाने तयारीमा थिए । निवासमै भएका बेला काठमाडौंबाट आएको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार सुन कारोबारसम्बन्धी मुद्दामा रकम असुली गरेको विषयमा अनुसन्धान गर्न भन्दै आएको प्रहरी टोलीले केसीको निवासमा खानतलासी गर्दा ३५ तोला सुन र २५ लाख रुपैयाँ नगदसमेत बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीका अनुसार डीएसपी केसी नियन्त्रणमा परेकोबारे आधिकारिकता बुझ्ने क्रममा रहेको बताएका छन् । केसीमाथि गत मंसिरमा बुटवलका एक व्यापारीले ल्याएको सुन नियन्त्रणमा लिएर आफैँले राखेको र व्यापारीसँग २५ लाख रुपैयाँ मागेको आरोप लागेको छ ।

स्रोतका अनुसार व्यापारीले २५ लाख रुपैयाँ बुझाए पनि सुन फिर्ता लिन नपाउँदै केसीलाई प्रहरीको छानबिन टोलीले नियन्त्रणमा लिएको हो ।

केसी तिनै डिएसपी हुन्, जसले १ साउनमा तिलोत्तमा नगरपालिकाका जनप्रतिनिधि र प्रमुख प्रशासकीय अधिकृतका बीचमा विवाद बढ्दै जाँदा वडाध्यक्षलाई लात्ताले हानेर पोखरीमा फ्याँकिदिएका थिए ।

 

प्रतिक्रिया सबै