९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

मृत्युको मुखबाट सन्तानलाई एक बुवाको सुझाव : कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा !

 शुक्रबार, पुस १५ २०७९  

काठमाडौं । कम्बोडियाको एक होटल क्यासिनोमा भएको भीषण आगलागीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये एकजना नेपाली नागरिक रहेका छन् ।

झापाको विर्तामोड नगरपालिका १ घर भएका ४० वर्षीय निराकार पाण्डेको मृत्यु भएको हो । उनका सहपाठी दिनेश सिलवालले बिहीबार बिहान ४ बजेतिर मृत्यु भएको पुष्टि भएको नेपाली अनलाईन मिडियाहरुलाई जानकारी दिएका छन् ।

उनका अनुसार त्यहाँ एकजना नेपाली साथी पनि थिए । उनले स्थानीय प्रहरीमा गएर शव सनाखत गरेपछि थाइल्याण्डस्थित नेपाली दूतावासमार्फत शव ल्याउनका लागि पहल भइरहेको छ । नेपाली कन्सुलेट जनरलबाट पत्र लिएर शव ल्याउने प्रक्रिया थालिने उनको भनाई छ ।

उनी व्यवसायको सिलसिलामा सिलवाल एक महिना अघि भिजिट भिसामा कम्बोडिया गएका थिए । अंग्रेजी नयाँ वर्षमा घर फर्किने तयारीमा रहेका उनी त्यहाँको ग्राण्ड डायमन्ट सिटी बिल्डिङमा रहेको होटल क्यासिनोको १२ औं तलामा उनी बसेका थिए ।

बीबीसीका अनुसार स्थानीय समयअनुसार बिहीबार राति साढे ११ बजेपछि आगलागी सुरु भएको थियो । आगलागी भएपछि केही व्यक्ति भवनबाट हामफाल्दै गरेका भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएका थिए ।

बाहिर निस्किन सक्ने सम्भवना नरहेपछि सिलवालले घरमा फोन गरेर परिवार र आफन्तसँग कुरा गरेका थिए ।

बाहिर सार्वजनिक भएको एक भिडियो सन्देशमा पाण्डेले दिनेशलाई आफ्नो परिवारको ख्याल राखिदिन भनेका छन् । उनले अब आफू नरहने भन्दै ९ वर्षीय छोरा र परिवारको हेरचाह गरिदिन पनि भनेका छन् ।

आगो लागिरहेको क्यासिनोको १२ तलाबाट लाइभ भिडिओमा छोरालाई उनले भनेका छन्- ‘बाबा अलवेज लभ्स यू, राम्रो मान्छे बन्नू । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न है छोरा !’

उनले आफ्नो ज्यान जोगाउन क्यासिनोको १२ औं तलाबाट हाम फालेका हुन् । हामफाल्नुअघि उनले झापामा रहेका आफ्ना परिवारका विभिन्न सदस्यहरूसँग भाइबरमा डेढ घन्टा भिडिओमा कुराकानी गरेका थिए । पाण्डेले आफ्ना बुबा अग्नि पाण्डे, आमा, श्रीमती, ९ वर्षीय छोरा, दाइ र भाइहरूसँग कुराकानी गरेका थिए ।

उनले आफ्ना छोरा आर्मन शुभ पाण्डेसँग अन्तिम समयमा गरेको सार्वजनिक भिडिओ कुराकानीमा उनले छोरासँग कुरा गर्दै गर्दा तल होटल परिसरमा दमकलको साइरन सुनिन्छ । कोठाभित्र धुँवा छिर्न थालेको देखिन्छ ।

छोरासँग कुरा गर्दै उनले भन्छन्- ‘सानु, मेरो आँखाको बाबु, म तिमीलाई धेरै माया गर्छु । बाबा अलवेज लभ्स यू’, उनले छोरालाई सम्झाउँछन्- ‘सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा । कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न ।’

सानु, मेरो आँखाको नानी बाबु, म तिमीलाई धेरै माया गर्छु है । बाबा अलवेज लभ्स यू । जहाँ भए पनि जसरी बसे पनि बाबाले तिमीलाई सधैं सम्झनुहुन्छ है, बाबु है। आर्मन इज द बेष्ट है सानु । अब सुन है। मामुलाई धेरै माया गर्नु, अग्नि बुबा, लीला मामुलाई माया गर्नू है। लमजुङ बुबा मामुलाई माया गर्नू सबैभन्दा ठूलो कुरा राम्रो मान्छे बन्नुपर्छ है छोरा ।

कसैलाई चिट गर्नुहुन्न, फ्रड गर्नुहुन्न। आफूले सकेको सहयोग गर्नुपर्छ है छोरा। अनि त्यसपछि विशेष गरी मामाहरूलाई कहिल्यै पनि चित्त नदुखाउनू। माइजुहरूलाई चित्त नदुखाउनू । उहाँहरूले धेरै गर्नुभएको छ, माइजुहरूले। लमजुङ बुबा आमाले पनि धेरै गर्नुभएको छ। है सानु तिमी धेरै ठूलो मान्छे बन्नू । ज्ञानी हुनू ।

उनका दाजु निरजले निराकर दुई महिनाअघि, नोभेम्बर ७ तारिखमा थाइल्यान्ड गएको बताए । त्यहाँबाट घुम्नका लागि कम्बोडिया पुगेका थिए । कान्छा भाइ निराजनको बिहेपछि निराकर थाइल्यान्ड गएका थिए ।

कम्बोडियाको होटलमा भएको आगलागीमा फसेको थाहा भएपछि राती ११ बजे उनी र आफ्नो श्रीमती र आमा काठमाडौंको सुकेधारामा उसको परिवार बसिरहेको ठाउँमा पुगेको बताए । त्यसपछि निराकारसँग लगातार भिडिओ कलमा कुराकानी भएको र आफूहरूले उसलाई उद्धार हुने भन्दै सुरक्षित रहन भनिरहेको निरजको भनाई छ ।

राति १२ बजेदेखि नेपाली समय बिहान ४ बजेर २६ मिनेटसम्म कुरा भएको थियो । ‘हामीले उसलाई धुवाँ आउँछ भनेर ढोकामा कपडा खाँद्नू, पर्यटकीय क्षेत्र भएकाले चाँडै उद्धार हुन्छ भनिरह्यौं । तर भएन !’, उनले भनेका छन् ।

आगलागी भएको चार घन्टासम्म पनि निराकारको उद्धार हुन नसकेकामा निरज दुखी छन् । उनका अनुसार उक्त भवनमा सन् २०१९ मा पनि आगो लागेको थियो । निराजनले आगो लागेपछि नियन्त्रणमा आउला भन्ने सोचेका थिए । त्यसैले आगलागी सुरू भएको डेढ घन्टापछि मात्र परिवारलाई खबर गरेका थिए ।

 

प्रतिक्रिया सबै