३ जेष्ठ २०८१, बिहीबार Thursday 16 May, 2024

सरकारलाई महासंघको चेतावनी : पृथ्वी जयन्तीबारे निर्णय नसच्याए सशक्त आन्दोलन

 सोमवार, पुस २५ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाती महासंघ (नेफिन)ले सरकारले पुस २७ गते पृथ्वी जयन्तीको दिन सार्वजनिक विदा दिने गरेको निर्णयप्रति आपत्ति जनाएको छ । सत्ता गठबन्धनको न्युनतम साझा कार्यक्रममा पुष २७ गते पृथ्वी जयन्तीको रुपमा एकता दिवस मानाउने र सो दिन सार्वजनिक विदा दिने विषयप्रति महासंघले गम्भिर ध्यानाकर्षण भएको जनाएको हो ।

गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो र यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हुने समेत महासंघको निष्कर्ष रहेको छ ।

‘पृथ्वीनारायण शाहले सहमतिको आधारमा नभइ गोरखा राज्य विस्तारको लागि फौजी आक्रमणको बलमा आदिवासी जनजाती समुदायको विभिन्न स्वशासित राज्यहरुलाई निर्ममतापूर्बक कब्जामा लिएको हुँदा यसलाई किमार्थ एकता र एकीककरण मान्न सकिदैन’, सोमबार राजधानीमा पत्रकार सम्मेलन गर्दै महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘गणतन्त्र नेपालमा कुनै राजाको जन्मदिनलाई एकता दिवस मनाउनु भनेको राजा महाराजाको भक्तिगान गाउनु हो र यो प्रक्रिया प्रतिगमनकै पहिलो कदम हुने समेत हाम्रो निष्कर्ष रहेको छ ।’

यस्तै, महासंघले मन्त्री तथा सांसदको सथप ग्रहणमा दौरासुरुवाल र खस-नेपाली भाषालाई मात्र राष्ट्रिय पोशा र राष्ट्र भाषा बनाउने राज्यको क्रियाकलाप संविधान २०७२ को भावना र मर्ममाथि समेत ठाडो प्रहार भएको भन्दै विरोध जनाएको छ ।

‘मन्त्री तथा सांसदको सथप ग्रहणमा दौरासुरुवाल र खस-नेपाली भाषालाई मात्र राष्ट्रिय पोशा र राष्ट्र भाषा बनाउने गरी क्रियाकलापहरु भइरहेका छन् । यसले नेपालको राष्ट्र र राष्ट्रियताको गलत व्याख्या गरी बहुभाषियक, बहुसांस्कृतिक, बहुधार्मिक, बहुराष्ट्रियता र बहुजातीयता रंगीन विविधताको उपहास गर्नु साथै संविधानसभाबाट जारी नेपालको संविधान, २०७२को भावना र मर्ममाथि समेत ठाडो प्रहार गरेको हाम्रो ठहर छ’, महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

महासंघले राज्यको पछिल्लो गतिविधिले ऐतिहासिक जनआन्दोलन, जनयुद्ध, मधेश विद्रोह र आदिवासी आन्दोलनबाट प्राप्त उपलब्धीहरु गणतन्त्र, संघीयता, धर्म निरपेक्षता र समानुपातिक/समावेशी व्यवस्थामाथि गम्भिर चुनौती थपिएको समेत उल्लेख गरेको छ । ‘कयानडा, अष्ट्रेलिया, अमेरिका लगायतका मुलुकमा राज्य विस्तार तथा विभिन्न गतिविधिको क्रममा आदिवासी समुदायमाथि भएको दमनमा त्यहाँको सरकारले सार्वजनिक रुपमा माफी माग्छन् तर नेपालमा लोकतान्त्रिक भनिने सरकारले थप दमन गर्ने नीति अंगीकार गर्नु आफैमा निन्दनीय र अमानवीय हर्क हो’, विज्ञप्तिमा उल्लेख छ ।

सबै जाती, भाषा, धर्म र संस्कृतिको साझा सहमति र संकल्पमा मात्रै राष्ट्रिय एकता खोज्नुपर्ने भन्दै महासंघले कुनै राजा महाराजाको जन्मदिनलाई एकताको दिवस र प्रतिक मान्न कदापी नसकिनेर संघीय नेपालमा एकात्मक सोच र चिन्तनबाट गरिने यस्ता गतिविधिहरु तत्काल सच्याउन आग्रह समेत गरेको छ ।

यस्तै महासंघले सरकारले आफ्नो आग्रहलाई बेवास्ता गरी थप यस्ता गतिविधिलाई बढावा दिने खालका क्रियाकलाप गरिए सशक्त आन्दोलनमा उत्रिने समेत चेतावनी दिएको छ ।

यस्तो छ विज्ञप्ति : 

 

 

 

प्रतिक्रिया सबै