८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

त्रिविमा अनिवार्य विद्युतीय हाजिरी

 शुक्रबार, माघ २० २०७९  

काठमाडौं । त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यलय तथा निकायहरुमा फागुन एक गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ ।

माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन एक गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युत्तीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । निर्णयमा विद्युतीय हाजिरीको व्यवस्था विपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने उल्लेख छ ।

परिषदले त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीले तोकिएको समयमा इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गर्न गराउन निर्देशन दिएको छ । कामको प्रकृति अनुसार कुनै शिक्षक, कर्मचारीलाई इलेक्ट्रोनिक डिभाईसमा हाजिरी गराउन नसकिने भनी नीज कार्यरत निकाय प्रमुखबाट यथार्थ प्रमाणको आधारमा प्रमाणित भई हाजिरी रजिष्ट्रारमा मात्र हाजिरी गराउनुपर्ने अवस्था रहेमा केन्द्रीय कार्यलयको हकमा रजिष्ट्रारको तथा अन्य निकायहरुको हकमा कार्य समिति कार्यन्वयन समितिको पूर्व स्वीकृति लिनुपर्ने छ ।

परिषद्को निर्णय अनुसार अध्ययन संस्थान/संकायमा अध्ययन अध्यापन कार्यमा संलग्न शिक्षकहरुले आफ्नो क्याम्पस, कार्यालयमा आफ्नो कक्षा भएको सिफट्मा दिनमा एकपटक हाजिरी गर्नुपर्नेछ । तर, वर्षे तथा हिउँदे बिदाको सट्टा घर विदा पाउने गरी तोकिएको कार्यालयमा पुरा समयमा कार्यरत शिक्षकहरुले भने आएको समय र गएको समय दुई पटक नै ई-हाजिरी गर्नुपर्नेछ । दुई पटक हाजिरी हाजिरी गर्नुपर्ने शिक्षक कर्मचारीले एकपटक मात्र गरेमा गयल भएको मानिनेछ ।

कर्मचारीहरुले आएको समय र गएको समय जनिने गरी तोकिएको निकायमा दिनमा दुई पटक र सवाली चालक तथा दिनभर बारिह फिल्डमा खटिई कार्य गर्नुपर्ने शिक्षक, कर्मचारीहरुले केन्द्रिय कार्यालयको हकमा रजिष्टार तथा अन्य निकायको हकमा सम्बन्धित निकाय प्रमुखको पूर्व स्वीकृति लिई दिनमा एक पटक ई–हाजिरी गर्नुपर्नेछ ।

हाजिरी मेसिनमा भएको खराबीका कारण कुनै दिन हाजिर गर्न नसकिने अवस्था भएमा त्यस्ता शिक्षक÷कर्मचारीहरुको हाजिरी सम्बन्धित निकाय प्रमुख÷कर्मचारी प्रशासन शाखा तथा शाखा प्रमुखले प्रमाणित गरी राख्नुपर्नेछ । ई-हाजिर भएको तर तोकिएको कक्षा नलिएको प्रमाणित भएमा निज शिक्षक अनुपस्थित भए सरह गणना हुनेछ ।

 

प्रतिक्रिया सबै