१२ मंसिर २०८०, मंगलवार Tuesday 28 November, 2023

कर्णालीका मुख्यमन्त्रीद्वारा सचिवहरूलाई ६१ बुँदे निर्देशन

 मङ्लबार, माघ २४ २०७९  

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सचिवहरूलाई निर्देशन जारी गरेका छन् । उनले माघ १७ गतेको मितिमा प्रदेशस्थित प्रमुख सचिव तथा सचिवहरूका लागि ६१ बुँदे निर्देशन जारी गरेका हुन् ।

मुख्यमन्त्री शर्माले प्रदेशको राजस्व आम्दानीको अवस्था सुधार, पुँजीगत खर्च वृद्धि, सार्वजनिक सेवा प्रवाह, विकास निर्माण, आयोजना सञ्चालनका विषयमा केन्द्रित हुने लगायतका विषयमा सचिवहरूलाई निर्देशन दिएका छन् ।

मुख्यमन्त्रीले जारी गरेको निर्देशनमा भनिएको छ- ‘चालु आर्थिक वर्षको साढे ६ महिना बितिसक्दा पनि आन्तरिक राजस्व ७१ करोड ७९ लाख अनुमान गरिएकोमा २५ करोड ५ लाख मात्र उठेको छ, वित्तीय खर्च १०।७७ प्रतिशत मात्र हुँदा हाम्रो भैतिक प्रगति कति भएको होला भन्ने सहजै अनुमान लगाउन सकिन्छ । यसको कारण खोजी गरी नीतिगत तहमा समस्या भए तथ्यमा आधारित सुधारका प्रस्ताव ल्याउनुहोस् ।’

प्रदेशको वित्तीय चक्र नै समस्याग्रस्त देखिएकोले यस्तो हुन नदिने संवेदनशील भएर लाग्न उनले निर्देशन दिएका छन् । ठूला आयोजनामा विनियोजन भएको बजेट, हालसम्मको खर्च तथा भौतिक प्रगति, विकास आयोजना निर्माणको गति तीव्र गर्ने उपायसहितको कार्ययोजना तत्काल तयार गरी कार्यान्वयन गर्न सचिवहरूलाई मुख्यमन्त्री शर्माले निर्देशन दिएका छन् ।

विकास आयोजनामा चालु आर्थिक वर्षमा विनियोजन गरेको रकम खर्च हुन नसक्ने भए बचत हुने रकम अन्यत्र बजेट अपुग भएको सञ्चालित र खर्च गर्न सक्ने परियोजनाहरूमा सार्न, प्रदेश सरकारको कार्य सम्पादन सन्तोषजनक नभएको गुनासो आएकाले यसको सम्बोधन गर्न, कार्यविधि निर्माण, योजना सर्वेक्षण, लागत अनुमान गरी तत्काल सम्झौता सम्पन्न गर्न मातहत निकायलाई निर्देशन गर्न सचिवहरूलाई निर्देशनमा उल्लेख छ ।

समयमै गुणस्तरीय कार्य सम्पादन गर्ने पदाधिकारीलाई पुरस्कृत गर्न सिफारिस गर्नुपर्ने, जनशक्ति आपूर्तिका लागि मन्त्रालयमार्फत् संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा लेखी पठाउन, प्रदेश लोकसेवा आयोगको सहमतिमा करार सेवा कार्यविधिको आधारमा पदपूर्ति गर्न, दरबन्दी पुनरावलोकन गर्न पनि निर्देशनमा भनिएको छ ।

 

प्रतिक्रिया सबै