२१ बैशाख २०८१, शुक्रबार Friday 3 May, 2024

कार्यकर्तालाई ओलीको निर्देशन- अस्वस्थ ढंगले चल्ने दलहरूलाई पराजित गर्ने तयारी गर्नुस्

 शुक्रबार, फाल्गुन ५ २०७९  

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको बताएका छन् ।

शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली उद्‌घाटन गर्दै अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको बताए ।

अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्नेगरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई उनले निर्देशन समेत दिए । निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको अध्यक्ष ओलीको भनाई थियो ।

‘विभिन्न राजनीतिक शक्तिहरू एमालेसँग स्वस्थ प्रतिस्पर्धा गर्न सक्ने अवस्थामा छैनन् । तसर्थ, उनीहरू अस्वस्थ प्रतिस्पर्धाका अस्वस्थ तरिकाहरू अपनाउन सक्छन् । हामीले केही देखेका छौँ । भोगेका छौं–निकट विगतमा हामीले जुन प्रकारका समस्या भोगेका छौँ । त्यस्ता समस्या फेरि आगामी दिनमा भोग्नु नपर्ला भन्न सकिन्न । उनीहरूको फेरि उस्तै किसिमको चक्रव्यूह हुँदैन भन्न सकिन्न । यस्तो स्थितिमा हामीले आफूलाई तयार राख्नु पर्दछ’, उनले भने ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराउँदै पार्टी हितको पक्षमा नउभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने बताए । ओलीले आगामी ४ वर्षपछि हुने निर्वाचनमा ५० प्रतिशत भन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान सञ्चालन गरेको स्पष्ट पारे ।

 

प्रतिक्रिया सबै