८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

‘अवतार २’ बन्यो विश्वमा धेरै कमाउने तेस्रो फिल्म

 सोमवार, फाल्गुन ८ २०७९  

काठमाडौं । जेम्स क्यामरुन निर्देशित हलिउडको ब्लकबस्टर फिल्म ‘टाइटानिक’ तेस्रो धेरै कमाउने फिल्मको सूचीबाट पछि हटेको छ । हलिउड म्यागजिन भेराइटीका अनुसार यो फिल्मलाई क्यामरुनकै अर्को फिल्म ‘अवतार ः द वे अफ वाटर’ले उछिनेको हो ।

पुस १ गते विश्वभर रिलिज भएको ‘अवतार २’को कुल कमाइ अहिलेसम्म २.२४३३ बिलियन डलर छ । जबकि ‘टाइटानिक’को कुल कमाइ २.२४२८ बिलियन डलर छ । अब भने ‘अवतार २’ शीर्ष स्थानमा रहेको ‘अवतार’ (२.९२ बिलियन डलर) र दोस्रो स्थानमा रहेको ‘एभेन्जर्स ः इन्डगेम’ (२.७ बिलियन डलर) भन्दा पछि तेस्रो स्थानमा छ ।

दुई बिलियन डलर वा सोभन्दा बढी कमाइ गर्ने तीन फिल्मका एक मात्र फिल्म निर्माता क्यामरुनले अहिलेसम्मको पहिलो, तेस्रो र चौथो सबैभन्दा ठूलो रिलिज निर्देशन गरेका छन् । ‘जेम्स क्यामरुनले बक्स अफिसमा आफूलाई पछ्याउने क्रम जारी राखेका छन्,’ बक्स अफिस प्रोका विश्लेषक शान रोबिन्स भन्छन्, ‘कसरी आधुनिक दर्शनलाई संलग्न गर्ने भन्नेबारेमा उहाँलाई स्पष्ट रुपमा थाहा छ ।’

मौलिक ‘अवतार’जस्तै यसको दोस्रो श्रृंखलाले पछिल्लो पुस्ताका दर्शकमाझ अपील सिर्जना मात्र गरेन, पछिल्लो विकसित प्रविधिको ढाँचामा फिल्म रिलिज गर्दै दर्शकलाई प्रोत्साहन पनि दिएको थियो । आईम्याक्स स्क्रिनमा फिल्मले २५ करोड डलर कमाएको छ ।

यो कमाइ फिल्मले अन्य हलमा कमाउने भन्दा बढी रकम हो । ‘अवतार २’ उत्तर अमेरिकामा ६५७ मिलियन डलरका साथ अहिलेसम्मको नवौं सबैभन्दा धेरै कमाउने फिल्म हो ।

प्रतिक्रिया सबै