८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

विद्यार्थी भन्छन्- देशमै अवसर देऊ

 मङ्लबार, फाल्गुन ९ २०७९  

काठमाडौं । पोखरा विश्वविद्यालयबाट उपाधि हासिल गरेका स्याङ्जाका सुशील पंगेनी व्यवसाय प्रशासनमा स्नातकोत्तर हुन् । सोमबार आयोजित अठारौँ दीक्षान्त समारोहमा उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट दीक्षित भए ।

पंगेनीले व्यवस्थापन संकायतर्फ सर्वोत्कृष्ट अंक प्राप्त गरी ‘कुलपति पदक’ समेत प्राप्त गरे । दीक्षान्त समारोहमा हँसिलो मुद्रामा भेटिएका उनले नेपालमै केही गर्ने सोच रहेको सुनाए । पंगेनीको पहिलो रोजाइ भने बैंकिङ सेवा हो ।

‘राष्ट्र बैंकका लागि लोकसेवा तयारी गरिरहेको छु’, उनले भने- ‘विदेश जाने त्यस्तो कुनै सोच बनाएको छैन, सरकारी सेवामा पनि जागिरको अवसर छ, त्यसमै लागिरहेको छु ।’ उच्च शिक्षा हासिल गरेका विद्यार्थीका लागि स्वदेशमै रोजगारीको सिर्जना हुनुपर्ने पंगेनीको भनाई छ ।

दक्ष जनशक्ति स्वदेशमै रहने वातावरण सिर्जना गर्ने मुख्य दायित्व सरकारको रहेको बताउँदै उनले उपयुक्त वातावरण र रोजगारीको अवसर पाए कोही पनि नेपालीले विदेश ताक्नु नपर्ने बताए ।

उनले झैँ अधिकांश दीक्षित विद्यार्थीले लोकसेवा पढेर सरकारी जागिरमा प्रवेश गर्ने इच्छा रहेको सुनाए । काठमाडौँकी श्रिया रिजाल पनि व्यवस्थापन विषयमै स्नातकोत्तर हुन् । उनले पनि बैंकिङ, परराष्ट्र सेवाजस्ता क्षेत्रमा अवसर खोजिरहेको बताइन् । ‘अवसर पाएसम्म विदेश किन जाने ?, यहीँ बस्ने वातावरण सरकारले बनाउनुपर्छ’, उनले भनिन् ।

उच्च शिक्षा पढेर पनि जागिर नपाउने स्थितिको अन्त्य गर्नुपर्ने रिजालले बताइन् । स्वास्थ्य विज्ञान संकायतर्फ फर्मास्यूटिकल साइन्समा स्नातक पोखरा-७ का जगदिश पौडेलले रोजगारी सिर्जनाका लागि स्वास्थ्य पूर्वाधारमा राज्यले लगानी बढाउनुपर्ने बताए । ‘औषधि उत्पादन, वितरणदेखि धेरै विषयहरू योसँग जोडिएको छ’, उनले भने- ‘सरकारले स्वास्थ्य संस्थामा रोजगारीको कोटा पनि थप्नुपर्छ, त्यो भयो भने हामीले पनि अवसर पाउँछौँ ।’

प्राविधिक विषयमा ठुलो शैक्षिक जनशक्ति उत्पादन भइरहे पनि नेपालले टिकाउन नसकेको पौडेलको भनाई छ । ‘पढाइमा परिवारको ठुलो लगानी परिरहेको हुन्छ, शैक्षिक उपाधि लिन उस्तै मेहनत गर्नुपर्छ, तर रोजगारीको सुनिश्चितता छैन’, उनले भने- ‘भविष्यको खोजीमा बाहिर जानु नेपालीको बाध्यता हो ।’

उनले राजनीतिक नेतृत्व र राज्य संयन्त्रले शैक्षिक जनशक्तिको पलायनलाई रोक्न उचित नीति र कार्यक्रम ल्याउनुपर्ने धारणा राखे । व्यवसाय प्रशासनमा स्नातक चितवनकी आस्था मगर पनि लोकसेवाको तयारीमा छन् । उनलाई पनि राष्ट्र बैंकको जागिरे बन्ने ठुलो रहर छ ।

‘जागिरको तयारीसँगै आफ्नो अध्ययनलाई पनि अगाडि बढाइरहेकी छु, विदेश जाने कुनै सोच अहिलेसम्म छैन, पाएसम्म नेपालमै अवसर खोज्ने हो, नत्र विकल्प त अपनाउनै पर्छ’, उनले भने- ‘मेरो परिवारको पनि सरकारी जागिरमै बढी जोड छ ।’ देशमै काम गर्ने उपयुक्त वातावरण भए विदेश जानै नपर्ने मगरले बताए ।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले शैक्षिक जनशक्ति राष्ट्रनिर्माणका लागि महत्पूर्ण स्रोत भएको बताए । दीक्षान्त समारोहमा उनले विश्वविद्यालयले देशको सर्वाङ्गीण विकासका लागि चाहिने ज्ञान र सीपयुक्त जनशक्ति तयार गरिरहेको उल्लेख गरे । विभिन्न तहमा उपाधि प्राप्त गरी दीक्षित भएका विद्यार्थीहरूलाई राष्ट्रनिर्माण र परिवर्तनको संवाहकका रुपमा काम गर्न आग्रह गरे ।

विसं २०५४ सालमा स्थापना भएको पोखरा विश्वविद्यालयका ६६ वटा महाविद्यालयहरूमा प्राविधिक एवं साधारण विषयमा स्नातक, स्नातकोत्तर, एमफिल र विद्यावारिधि तहमा पठनपाठन हुँदै आएको छ । दीक्षान्त समारोहमा छ हजार नौ सय ९९ विद्यार्थी दीक्षित भएको विश्वविद्यालयले जनाएको छ ।

विसं २०७९ माघ २० गतेसम्म ट्रान्सक्रिप्ट लिएका विभिन्न शैक्षिक कार्यक्रममा उतीर्ण विद्यार्थीहरूलाई उक्त विश्वविद्यालयका कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दीक्षित गरेका हुन् ।

प्रतिक्रिया सबै