८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

चिरिबाबुसँग जंगिदै बालेनले बैठक छाडे

 बुधबार, कार्तिक १५ २०८०  

काठमाडौं । बुढानीलकण्ठ नगरपालिकाको पार्क भिलेज रिसोर्टमा मंगलबार दिउँसो भइरहेको एक बैठकमा एक्कासी खैलाबैला मच्चियो ।

काठमाडौं उपत्यकाका नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरुको मञ्च ‘मेयर्स फोरम’ को बैठकको सुरुमै काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह जंगिएपछि बैठक केही समय तरंगित बन्यो ।

फोरमका यसअघिका बैठकमा बालेनले उपमेयर सुनिता डंगोललाई मात्रै पठाउने गरेका थिए । तर, पाँचौं बैठकमा भने उपमेयरसहित आफू पनि पुगेका थिए ।

मेयर्स फोरमको अध्यक्ष रहेका ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बैठकमा एजेण्डा प्रस्तुत गर्न लागेका थिए । बालेनले उनलाई रोक्दै भने, ‘खै माइक दिनुस्, म बोल्छु ।’ आफूले बोल्दाबोल्दै रोकेपछि महर्जन अल्मलिए ।

‘मलाई बोल्न दिने कि नदिने ?’ बालेनले तत्कालै चिरिबाबुलाई जंगिदै प्रश्न गरे ।

जवाफमा चिरिबाबुले भने, ‘म वैठकको अध्यक्षता गरिरहकै छु, एजेण्डामा प्रवेश गरेपछि सबैजना बोलौंला, तपाईंलाई बोल्न नदिने भनेकै छैन नि ।’

महर्जनको कुरा भुइँमा खस्न नपाउँदै बालेन जंगिए, ‘बोल्न नदिने भए म किन बस्ने यहाँ ? माइक नदिने हो ? तपाईंहरु नै बस्नुस् बैठक ।’ यति भनेर बालेन बैठक छोडेर निस्किए ।

प्रतिक्रिया सबै