८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

पर्यटन अर्थतन्त्रको दुखद् पाटो : भित्रिने भन्दा बाहिरिने चार गुणा बढी !

 शुक्रबार, कार्तिक १७ २०८०  

काठमाडौँ । गत अक्टोबर महिनामा १ लाख १७ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिएसँगै नेपाली पर्यटन जगतमा नयाँ उत्साहको सञ्चार हुन पुगेको छ । हुन पनि एकै महिनामा झण्डै सवा लाख पर्यटक भित्रिँदा किन उत्साहित नहुने ? यो हालसम्मको पर्यटक आगमनको उच्चतम् विन्दु हो ।

सन् २०२३ को हिउँदे सिजन जनवरी, फेब्रुअरी, मार्च र अप्रिल चार महिनामै ३ लाख २६ हजार ५२८ जना विदेशी पर्यटक नेपाल भित्रिएकामा अफ सिजन भनिएको मे, जुन, जुलाई र अगस्ट (बर्खा याम) मा २ लाख ७४ हजार ८३२ पर्यटक नेपाल भित्रिए ।

सेप्टेम्बर, अक्टोबर, नोबेम्बर र डिसेम्बर पर्यटनको सिजन मानिन्छ । सिजन सुरु भएसँगै पर्यटन आगमनमा तीव्रता आएको छ । अक्टोबर महिनामा मात्र १ लाख १७ हजार पर्यटक भित्रिएर पर्यटन आगमनको रेकर्ड ब्रेक गरेको छ । योसँगै १० महिनामा नेपाल भित्रिने पर्यटकको संख्या ८ लाख ९ हजार ६७८ पुगेको छ ।

सन् २०२३ को पर्यटक आगमनको तथ्याङ्क

जनवरी –५५,०७४

फेब्रुअरी –७३,२५५

मार्च –९९,४२६

अप्रिल –९८,७७३

मे –७७,७०३

जुन –७२,२५०

जुलाई –५७,७२६

अगस्ट –६७,१५३

सेप्टेम्बर –९१,०१२

अक्टोबर –१,१७,३०६

कुल –८,०९,६७८

सरकारले यो वर्ष १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । एकै महिना झण्डै सवा लाख पर्यटक भित्रिँदै गर्दा निकै उत्साहित भएको नेपाल पर्यटन बोर्ड बाँकी दुई महिनामा दुई लाख पर्यटक सहजै भित्रिनेमा ढुक्क छ ।

‘अब सरकारी लक्ष्य पूरा भयो भन्दा हुन्छ । यही रेसियोमा पर्यटक भित्रिए १० लाख होइन, ११ लाख कट्ने निश्चित छ,’ नेपाल पर्यटन बोर्डका प्रवक्ता मणिराज लामिछानेले रातोपाटीसँग भने ।

कोभिड–१९ पछि प्रायः सुस्ताएको पर्यटन क्षेत्र प्रचारप्रसारसँगै आवश्यक तयारीले तीव्रता पाएको उनले बताए । पर्यटन आगमनको वृद्धिसँगै नेपालको पर्यटन क्षेत्र प्रि–कोभिड (सन् २०१९) अघिकै अवस्थामा फर्किएको उनको भनाइ छ ।

सन् २०१९ मा ११ लाख ९७ हजार १९१ विदेशी पर्यटक नेपाल भित्रिएका थिए । लगत्तै सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सरकारले ‘नेपाल भ्रमण वर्ष, २०२०’ घोषणा गरेको थियो । तर, सो वर्ष कोभिडका कारण मुस्किलले २ लाख ३० हजारमात्र पर्यटक भित्रिए ।

कोभिडकै बिच सन् २०२१ र २०२२ मा क्रमशः १ लाख ४९ हजार ८३३ र ६ लाख १४ हजार १४८ पर्यटक नेपाल भित्रिएको केन्द्रीय बैंकको तथ्याङ्क छ । पोस्ट कोभिड सन् २०२३ लागेसँगै पर्यटक आगमनको तीव्र वृद्धिले उत्साह पैदा गरेको छ । यसले मुलुकको अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने अपेक्षा गरिएको छ । तर, पर्यटन अर्थतन्त्रको दुखद् पाटोका रुपमा आयभन्दा बढी खर्च देखिएको छ ।

भित्रिनेभन्दा बाहिरिने चार गुणा बढी !

नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको दुई महिना (साउन र भदौ) मा सेवा आयतर्फ भ्रमण आयमा ५३.९ प्रतिशतले वृद्धि हुँदै ९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको यसै अवधिमा पर्यटन शीर्षकमा जम्मा ६ अर्ब ७ करोड रुपैयाँ बराबर मात्र आम्दानी भएको थियो ।

सोही शीर्षकमा (भ्रमण) बाहिरिने मुद्राको परिणाम समेत उल्लेखनीय वृद्धि भएको तथ्याङ्कले देखाउँछ । समीक्षा अवधिमा भ्रमण आय ५३.९ प्रतिशतले वृद्धि हुँदैगर्दा भ्रमण व्यय ७६.५ प्रतिशतले बढ्न पुगेको हो ।

केन्द्रीय बैंकका अनुसार यस अवधिमा मुलुकबाट भ्रमण शीर्षकमा मात्र ३५ अर्ब ६० करोड रुपैयाँ बाहिरिएको छ । यो भनेको आयको तुलनमा ३.८१ गुणा बढी हो । जसबाट मुलुकलाई दुई महिनामै भ्रमण शीर्षकमा २६ अर्ब २६ करोड रुपैयाँ घाटा लाग्न पुगेको छ । यस्तो घाटाको निरन्तरता पछिल्लो असोज महिनामा थप बढ्ने निश्चित छ ।

थप शिक्षातर्फ बढ्दो खर्चले अहिलेको पर्यटन आगमनले घाटा पूर्ति गर्ने सम्भावना देखिँदैन । केन्द्रीय बैंककै तथ्याङ्क अनुसार साउन र भदौमा वैदेशिक शिक्षा खर्च शीर्षकमा २३ अर्ब ३३ करोड रुपैयाँ बाहिरिसकेको छ ।

 

प्रतिक्रिया सबै