८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

शक्तिशाली भूकम्पपछि राहत तथा उद्धार जाजरकोट र रुकुम पश्चिम केन्द्रित

 शनिबार, कार्तिक १८ २०८०  

काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार मध्यरातको समयमा शक्तिशाली भूकम्प गएसँगै सरकारी निकायसहितको टोली राहत तथा उद्धारका लागि जाजरकोट र रुकुम पश्चिम केन्द्रित भएको छ । मानवीय सहायकताका लागि राजनीतिक दलहरूले समेत आह्वान गरेका छन् ।

गएराति ११ बजेर ४७ मिनेटमा ६.४ म्याग्निच्युडको भूकम्पले जाजरकोट र रुकुम पश्चिममा व्यापक धनजनको क्षति भएको रिपोर्टहरू प्राप्त भइरहेको छ ।

सोहीअनुसार राहत तथा उद्धारका लागि पहल भइरहेको हो । जसअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावित क्षेत्रमा स्थलगत अनुगमन र उद्धारको लागि त्यसतर्फ पुगिसकेका छन् । स्वास्थ्यकर्मीको १६ जनाको टोली र आवश्यक उद्धार सामग्रीसहित प्रचण्ड भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानमन्त्रीको सचिवालय अनुसार सुर्खेत लगायत छिमेकी जिल्लाहरूबाट खोज तथा उद्धार लागि पनि तीनवटै निकायका थप सुरक्षाकर्मीहरू पनि परिचालन गरिसकेको छ।

यसैगरी सशस्त्र प्रहरी अस्पतालको मेडिकल टिमलाई जाजरकोटमा पठाइएको छ । भूकम्पबाट घाइते भएकाहरूको उपचारका लागि डा रोशन पराजुलीको नेतृत्वमा मेडिकल टिम घटनास्थलमा पठाएको सशस्त्र प्रहरी बलका सह प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।

डा पराजुलीको नेतृत्वमा ९ जनाको मेडिकल टिम सेनाको स्काइ ट्रक मार्फत घटनास्थल तर्फ लागेका हुन् ।

यसैगरी नेपाल एयरलाइन्सको जहाज पनि रुकुम उड्न लागेको छ भने सेनाको हेलिकप्टरका साथै आवश्यकताअनुसार निजी क्षेत्रको हेलिकप्टर पनि परिचालित भएका छन् ।

यस्तै स्थलमार्गबाट उद्दार र राहतका लागि तीन वटै सुरक्षा निकाय परिचालन हुनुका साथै स्थानीय निकाय पनि परिचालित भएका छन् ।

भूकम्पपछि राहत र उद्धारका लागि जुट्न एमाले अध्यक्ष केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, रास्वपाका सभापति रवि लामिछानेले पनि आह्वान गरेका छन् ।

भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा मात्रै कम्तीमा १२८ जनाको मृत्यु भइसकेको छ। रातको समयमा भूकम्प गएकाले जनधनको क्षति धेरै भएको बताइएको छ ।

प्रतिक्रिया सबै