१७ बैशाख २०८१, सोमबार Monday 29 April, 2024

अस्पतालको लापरवाहीले बुबा गुमाएका आदर्श मिश्राको एउटा अधुरो सपना(भिडियो)

 बुधबार, जेष्ठ १२ २०७८  

काठमाडौं । कमेडियन आदर्श मिश्रा यतिबेला शोकमा छन् । मिर्गौला पीडित आफ्ना बुबा विनोद मिश्राको निधन भएपछि धार्मिक विधिअनुसार मृत्यु संस्कार गरिरहेका छन् ।

कमेडी च्याम्पियन प्रतियोगिताबाट स्थापित बनेका बारा जीतपुरका आदर्शले आफ्नो बुबाको मृत्युको कारण, अस्पतालको अवस्था र सरकारको स्वास्थ्य नीतिलगायतका विषयलाई लिएर भावुक भिडियो सार्वजनिक गरेका छन् ।

विगत चार वर्षदेखि मिर्गौलाको बिरामी भएका आफ्नो बुबा मंगलबार बिहान चितवनको भरतपुर अस्पतालमा निधन भएपछि समसामयिक विषयमा खरो प्रहार गरेर दुनियाँ हसाँउने उनले निकै भावुक भिडियो सार्वजनिक गरेका हुन् ।

भिडियोमा उनले डायलसिसमार्फत उपचार गराइरहेका बाबुलाई बचाउन नसक्नुमा अस्पतालको लापरवाही र सरकारी नीतिलाई दोष दिएका छन् । बुबाको मृत्युको कारण वीरगन्जको नेशनल मेडिकल कलेज(एनएमसी) र नारायणी उप क्षेत्रीय अस्पतालको लापरवाहीलाई पनि दोष दिएका छन् ।

‘मेरो बुबाले एनएमसीमा चार बर्षदेखि डायलसिस गराइरहनु भएको थियो । प्रति डायलसिस ३५ सय रुपैंयाँ तिरको हो तर विरामीलाई समस्या परेको बेला धपाइदिने ?’उनले भनेका छन्,‘नारायणी अस्पतालमा गत बर्ष मात्र डायलसिस गराइरहेका विरामीलाई एनएमसी पठाइएको थियो । त्यहाँ विग्रिएको मेसिन नबनाउँदा एक महिनामा पाँच जना विरामीको मृत्यु भयो ।’

नारायणी अस्पतालको एउटा प्रसंगले लापरवाहीको उदाहरण पनि आदर्शले भनेका छन् ।  ‘यो अस्पतालकी एक जना नर्स दिदीले पनि ढाँट्नुभयो । उहाँले दुईवटै मेसिन बिग्रेको छ भन्नुभयो तर एउटा मात्र बिग्रेको रहेछ । यसबारे सूचना निकालेको छ भन्नुभएको थियो तर सूचना निकालिएकै रहेनछ ।’ आदर्शले बताए अनुसार डाक्टरले चार घण्टा डायलिसिस गराइदिनू भनेर निर्देशन दिए पनि ती नर्सले तीन घण्टा मात्रै गरिदिएको थिइन । ‘उहाँ (नर्स)त एक घण्टा छिटै घर पुग्नुभयो होला तर मेरो बुवा घर फिर्न पाउनुभएन ।

सरकारले कोभिडका विरामीका लागि भने एनएमसीलाई बेड छुट्याउन भनेपनि माथिको आदेश नमानेको उनले भिडियोमा भनेका छन् । उनले भनेका छन्,‘एनएमसीका संचालक बसरुद्दीन अन्सारीको गुन्डागर्दी हद भयो । यसको छानविन कहिले हुन्छ ?’

‘मैंले बाबालाई बचाउन सकिन, गलत निर्णयहरु गरें होला । काठमाडौं लानुपर्ने थियो होला । लगिन । भरतपुर अस्पतालमा एकसय पाँच ज्वरो छ । बाबाको होस छैन भनेर आइसीयूमा राख्न आग्रह गर्दा राखिएन’ उनले प्रश्न गरेका छन्,‘सबै ठिक छ भनियो, अनि आइसीयूमा किन राखिएन् ? ’

विद्यालय संचालक समेत रहेका बुबाको निधनपछि उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न सोधेका छन् । ‘बुबाले संचालन गरेको नोबेल स्कुल हेर अनि तिमीले चलाएको देश हेर । के छ अवस्था ? जतिबेला पनि इन्डियाको विरोधमा बोलेर चुनाव जितेपनि ओली राम्रो नेता होइन, उनले भनेका छन् । ‘देशको प्रधानमन्त्रीको किड्नी फेल भएको थियो । उहाँलाई अहिले पक्कै समस्या छैन । तर, उहाँबाहेक देशमा जति पनि मिर्गौलापीडित छन्, ती सबै गम्भीर समस्यामा छन् । सरकारी संयन्त्रकै गलत छ’ आदर्शले भनेका छन् ।

डिप्रेसनको विरामी रहेको आमालाई पनि आफूले पटक पटक ढाँट्न बाध्य भएको पनि बताएका छन् । एनएमसी र नारायणी अस्पतालले अझै कति मान्छे मार्ने हुन् ? भनेर प्रश्न पनि गरेका छन् । बुबाको उपचारका क्रममा सामाजिक सञ्जालमा आफ्नो दुःख र आक्रोस पोख्दै आएका आदर्शले  ‘यो यस्तो देश हो जहाँ मेरो ममी भारतीय भएकै कारण बाबाको किड्नी ट्रान्सप्लान्ट भएन’ भनेका थिए ।

उनले एउटा सपना पूरा गर्न नसकेकोमा दुःख ब्यक्त गरेका छन् । ‘मलाई नेपालको ठूलै कमेडियन मान्दो रहेछन्, राम्रै कमेडी गर्छ भन्छन् तर बाबालाई एउटा पनि सो देखाउन सकिन,’ उनले भनेका छन्,‘प्रज्ञा प्रतिष्ठानमा बाबालाई अगाडी राखेर बाबाको बारेमा एक घन्टा कमेडी गर्न मन थियो । पूरा भएन ।’

यो न्युज हाम्रा कुरा बाट

प्रतिक्रिया सबै