९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

प्रचण्डका कारण देउवाले मन्त्री फेर्न मानेनन् : माधव नेपाल

 शुक्रबार, असार १० २०७९  

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनका अन्य दलको प्रभावमा परेर आफ्नो पार्टीका मन्त्री फेर्ने निर्णय कार्यान्वयन नगरेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय मिनभवनमा पोलिटब्यूरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीका तर्फबाट सरकारमा रहेका मन्त्री फेर्नेबारे आफूले प्रधानमन्त्री देउवासँग पटक–पटक कुराकानी गरेपनि कार्यान्वयन नभएको बताए ।

पार्टी पोलिटब्यूरोको बैठकमा अध्यक्ष नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका छन् । बैठकमा सहभागी एक नेताका अनुसार अध्यक्ष नेपालले मन्त्री फेर्ने आफ्नो पार्टीको निर्णय कार्यान्वयन नहुनुमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भूमिका बढी जिम्मेवार रहेको पनि बताएका छन् ।

अध्यक्ष नेपालले एकीकृत समाजवादीका मन्त्रीहरु फेर्दा आफ्नो पार्टीमा पनि दबाब सिर्जना हुने भएपछि प्रचण्डले देउवालाई मन्त्री फेर्न नदिएको बताए । तर, मन्त्री फेर्ने पार्टीको निर्णय जसरी पनि कार्यान्वयन हुने नेता नेपालको भनाइ छ ।

‘पार्टीले निर्णय गरेर मन्त्रीहरु परिर्वतन गर्ने भनेकाले छिट्टै कार्यान्वयन हुन्छ,’ अध्यक्ष नेपालले बैठकमा गरेको सम्बोधन उद्धृत गर्दै नेता मेटमणि चौधरीले भने, ‘सुरुरुमा बजेट पारित र जवाफ दिने कुराले रोकिएको हो। अहिले गठबन्धनको दलभित्र समस्या हुने कुरा भएकाले यी सबै मिलाएर पार्टीको निर्णय कार्यान्वयन हुन्छ।’

बिहान साढे ११ बजेदेखि सुरु भएको पोलिटब्यूरोको बैठकमा मन्त्रीहरू विरोध खतिवडा र प्रेम आले उपस्थित छन् । मन्त्री रामकुमारी झाँक्री भने अनुपस्थित रहेकी छन् । एकीकृत समाजवादीमा ७१ सदस्यीय पोलिटब्युरो रहेको छ ।

यो पनि

मन्त्री हेरफेरविरुद्ध उभिए १० सांसद

प्रतिक्रिया सबै