९ श्रावण २०८१, बुधबार Wednesday 24 July, 2024

नागरिक उन्मुक्तिमा प्रवेश गर्दै लक्ष्मण थारुले भने- निर्दोष रेशम चौधरीलाई राज्यले फसायो

 आइतवार, असार १२ २०७९  

काठमाडौं । लक्ष्मण थारु रेशम चौधरीको पार्टीमा प्रवेश गरेका छन् । थरूहट थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण रेशमको अगुवाइमा खुलेको नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका हुन् ।

देशको भाग्य र भविष्य अब यही पार्टीले बनाउने भन्दै उनी उक्त पार्टीमा प्रवेश गरेका हुन् । राजधानीमा आयोजित पत्रकार सम्मेलनमा थारूसहित थरूहट थारुवान राष्ट्रिय मोर्चा दाङका केन्द्रीय सल्लाहकार सुरेन्द्र चौधरीसहित ५० जनाभन्दा बढी सो पार्टीमा प्रवेश गरे ।

यस्तै पार्टी प्रवेश गर्नेहरूमा रामकुमार चौधरी, मोहनलाल चौधरी, बिन्दु चौधरी, सीताराम चौधरी, गणेश चौधरी, रन्जित चौधरी, बासुदेव चौधरी, लोकबहादुर लौहार, राजीव कार्की, रामलाल थारु, मोतीलाल चौधरी, जगत चौधरी, शिवलाल चौधरी, दीपक चौधरी, शकुन्तला विक, भरत विकलगायत रहेका छन् । रौतहटबाट मनोज चौधरी र कृष्णकान्त चौधरी पनि पार्टी प्रवेश गरेका छन् ।

पत्रकार सम्मेलनमा लक्ष्मण थारुले कुनै अपराध नगरी आफूमाथि पनि सरकारले जन्मकैदको फैसला सुनाएको टिप्पणी गरे । उनले रेशम चौधरी निर्दोष भएको बताए । टिकापुर घटनामा थारुहरुले बच्चा र प्रहरी मारेको प्रमाण नभएको भन्दै वास्तविक दोषीलाई जोगाएर निर्दोष रेशम चौधरीलाई फसाएको उनको भनाई छ । ‘टिकापुर घटनाको वास्तविक दोषीलाई कारबाही गर्नुपर्छ, रेशम चौधरीसँग घटनाको समयमा कुनै हतियार थिएन । राज्यले झुट्टा मुद्दा लगाएर फसायो, थारुले राजनीति गर्न नपाउने हो ?’ उनले रेशमसँगै जेलमा रहेका सात जना आन्दोलनकारी भएपनि हत्यारा नभएको पनि दाबी गरे ।

केन्द्रीय सदस्य रामलाल दमला थारुले हिमाल, पहाड र तराईका सबै नेपालीहरुको अधिकार प्राप्तिको लागि स्थापना भएको बताए । नागरिक उन्मुक्ति पार्टी जन्मिएपछि शासक वर्गहरुको मन मुटुमा धक्का पुगेको उनले बताए । आफ्नो पार्टीले गत बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा ऐतिहासिक सफलता हासिल गरेको उनको भनाई थियो । उनले निर्वाचनमा पार्टीले पाएको सफलतालाई युगान्तकारी इतिहास कोर्न सफल भएको पनि बताए ।

नवप्रवेशी सुरेन्द्र चौधरीले नागरिक उन्मुक्ति पार्टी राज्यले गरेको उत्पीडनको विरुद्धमा स्थापना भएको भएको बताए । चौधरीले नेपालका नेताको कारण निर्दोष नेता रेशम चौधरी जेलमा बस्न बाध्य भएको पनि बताए ।

यो पनि

जेलबाटै रेशम चौधरीले भने- ‘टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएर पुरस्कार दिएको छ’

 

प्रतिक्रिया सबै