१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

गायिका दिलमाया सुनारको मृत्युबारे अनुसन्धान गर्दै प्रहरी, स्टाटसमा पनि आशंका

 आइतवार, असार १२ २०७९  

काठमाडौं । लोक दोहोरी गायिका दिलमाया सुनारले आत्महत्या गरेको प्रहरीले आशंका गरेको छ । प्रहरी स्रोतका अनुसार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जले पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट दिएपछि मात्रै निर्क्योल गर्नेछ ।

नेपालटारस्थित कोठामा शनिबार पौने ११ बजे उनी मृत अवस्थामा भेटिएकी थिइन् । कोठामा घोप्टो परेको अवस्थामा उनको शव भेटिएको थियो । लगत्तै अनुसन्धानका लागि प्रहरीले सूर्य श्रेष्ठ नामक व्यक्तिलाई नियन्त्रणमा लिएको प्रहरी वृत्त, बालाजुका डीएसपी गौतम मिश्रले बताए ।

शवको जाँचबुझमा संलग्न चिकित्सकहरुका अनुसार घाँटीमा ‘मार्क’बाहेक शरीरमा अन्य कुनै चोटपटक देखिएको छैन, त्यसैले उनले झुण्डिएर आत्महत्या गरेको हुनसक्ने आशंका गरिएको प्रहरीको अनुमान छ । तर घोप्टो परेको अवस्थामा शव भेटिनु र झुण्डिन प्रयोग भएको वस्तु बरामद नहुनुले घटनालाई रहस्यमय बनाएको छ ।

सुनारको फेसबुकमा शुक्रबार राति १ः२० बजे ‘जिन्दगीमा धेरै उतारचढाव भोगेको र जान्ने भएर आफैं एक्लो भएको’ भन्दै स्टाटस पोष्ट भएको छ । ‘कसैको माया पाउन जति कोशिश गरे पनि पाउन सकिनँ, तर पनि हार खाइनँ’ स्ट्याटसमा भनिएको छ, ‘तर अहिले धेरै गाह्रो भयो, म बाँचेर पनि दिनदिनै मर्न सकिनँ आमा । तिम्री छोरी धेरै थाकी छे ।’

उनका आफन्त र लोक दोहोरी प्रतिष्ठानले यो आईडीबाट पोस्ट भएको स्टाटसमा पनि आशंका गरेको छ । ३० वर्षीया गायिका सुनार लाइभ दोहोरी गीतका कारण चर्चामा आएकी थिइन् । उनले ख्यातिप्राप्त लोकदोहोरी गायक राजु परियारसँग मिलेर पनि केही चलेका लोकदोहोरी गाएकी थिइन् । केही महिनाअघि सम्पन्न राष्ट्रिय लोकदोहोरी गीत प्रतियोगितामा उनी उत्कृष्ट घोषित भएकी थिइन् ।

यो पनि पढ्नुहोस्

गायिका दिलमायाको भावुक ‘सुसाइड नोट’ : मसित थोरै सुन छ बेचेर छोरालाई दिनू !

प्रतिक्रिया सबै