प्रदेश १ को नाम कोशी कि ‘किराँत’ ?

काठमाडौं । नेपालका सात प्रदेश मध्ये ६ वटै प्रदेशले आफ्नो नाम राखिसक्दा पनि प्रदेश १ मा भने अझै पनि नामकरणको टुँगो लगाउन सकेको छैन ।
नाम राख्न अलमलमा रहेको भन्दै प्रदेश १ मा पहिलो पटक असार १४ गते मंगलबार सर्वदलीय बैठक भएको थियो । त्यसयता छलफल भने भएको थिएन । बजेट अधिवेशन सुरु भएलगत्तै भने प्रदेश नामाकरणको विषयमा पुनः छलफल अगाडि बढेको हो ।
प्रदेश १ को नाम पहिचान, भूगोल वा बहुपहिचानका आधारमा राख्ने भन्ने विषयमा दलहरुबीच छलफल बहस जारी छ ।
सर्वदलीय छलफल बिना निष्कर्ष
प्रदेश १ को नामकरणका लागि सहमति जुटाउन आज (शुक्रबार) बसेको सर्वदलीय छलफल बिना निष्कर्ष टुंगिएको छ । शुक्रबार मुख्यमन्त्री कार्यालयमा नामको विषय छलफलका लागि संसदमा प्रतिनिधित्व गर्ने दलहरुको छलफल भएको थियो ।
बैठकमा चर्चामा आएकै नामहरु प्रस्तुत भएको थियो । कोशी, कोशी किराँत, किराँत, सगरमाथा, लिम्बुवानलगायत नामका विषयमा छलफल भए पनि दलहरुबीच सहमति जुट्न नसकेको एक नेताले बताए ।
नेकपा एमालेले भूगोलका आधारमा कोशी प्रदेश राख्नुपर्ने बताउँदै आएको छ । सत्तारुढ दलका नेताहरुले भने पहिचानको मुद्दा रहेकोले नामसँग पहिचान जोड्नुपर्ने बताएका थिए ।
बैठकमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले भने पहिचानको विषय जोडेर कोशी–किराँतमा जानुपर्ने धारणा राखेका थिए । एमाले संसदीय दलका नेता भीमप्रसाद आचार्यले बैठकमा पहिचान झल्कने खालको नाम राख्न नहुने पक्षमा एमाले रहेको बताए ।
प्रदेशको नामाकरण टुंगो लगाउन प्रदेशसभामा दुईतिहाई बहुमत आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका सभामुखसहित ३९, कांग्रेसका २१, माओवादीका १५, एकीकृत समाजवादीका १०, जसपाको ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना गरी ९० जना सांसद छन् ।
यो पनि
प्रदेश १ को नाम टुंगो लगाउन सरकार र प्रतिपक्ष दलबीच सहमत, किराँत राख्नुपर्ने माओवादीको जोड