८ श्रावण २०८१, मंगलवार Tuesday 23 July, 2024

फोनिजद्वारा चार पत्रकार पुरस्कृत र एक संचार संस्था सम्मानित हुँदै

 मङ्लबार, साउन २४ २०७९  

काठमाडौं । नेपाल आदिवासी जनजाती पत्रकार महासंघ ‘फोनिज’ले हरेक वर्ष प्रदान गर्दै आएको ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ चार पत्रकारले पाउने भएका छन् ।

यस वर्षको पुरस्कार छापातर्फ सुनसरीका गोपाल देवान, अनलाइनतर्फ काठमाडौंका अनिता गुरुङ, टेलिभिजनतर्फ चितवनका राजु चौधरी र रेडियोतर्फ उदयपुरका अप्सरा समाललाई प्रदान गरिने फोनिजका महासचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

त्यस्तै यस वर्षको ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ बुङ्वाखा मासिकलाई प्रदान गरिने भएको छ । बुङ्वाखाले बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुर्याउँदै आएको छ ।

पुरस्कार र सम्मान फोनिजको २३औँ स्थापना दिवसका अवसरमा २०७९ साउन २७ गते काठमाडौँमा आयोजना गरिने मूल समारोहमा प्रदान गरिने छ ।


यी हुन् पुरस्कृत-सम्मानित हुने पत्रकार र संचार संस्था

गोपाल देवाल, सुनसरी
सुनसरी कर्मथलो बनाएर २०४२ सालबाट साहित्यिक पत्रिका ‘काँचुली’बाट पत्रकारिता सुरु गरेका गोपाल देवानले पत्रकारितामा तीन दशक बढी समय व्यतित गरिसकेका छन् । हाल उनी ‘विश्वस्त सूत्र साप्ताहिक’को सम्पादक तथा प्रकाशक हुन् । दृष्टि साप्ताहिकलगायत दर्जनभन्दा धेरै सञ्चारमाध्यममा काम गरेको अनुभव देवानसँग छ । उनले धरानको ब्लाष्ट टाइम्स दैनिकका संस्थापक सम्पादक भएर समेत काम गरिसकेका छन् । साहित्यमा ‘अविराम क्रान्ति’ नामले परिचित उनी ‘आरम्भ नाट्य डबली’को अध्यक्षसमेत हुन् ।

अनिता गुरुङ, काठमाडौँ
हाइलाइट्स टुरिजम डटकमका  क्रीएटीभ सम्पादक अनिता गुरुङले २०५६ सालमा ‘रेडियो सगरमाथा’बाट पत्रकारिता सुरु गरेकी हुन् । सगरमाथा टेलिभिजनमा करिब १० वर्ष नेतृत्वदायी भूमिकामा काम गरेकी उनी लामो समयदेखि गोरखापत्र दैनिकको गुरुङ भाषा पृष्ठ संयोजकका रूपमा कार्यरत छन् । फोनिजका निवर्तमान सल्लाहकार गुरुङले रेडियो नेपालमा मिडियाविज्ञ भएर काम गरेकी छन् । पत्रकारिता क्षेत्रमा बहुआयामिक छवि बनाएकी अनिता गुरुङले सञ्चारजन्य विभिन्न संघ–संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेकी छन् ।

राजु चौधरी, चितवन
चितवनलाई आधार बनाएर पत्रकारितामा क्रियाशील राजु चौधरीले २०६७ सालमा कायाकैरन दैनिकबाट पत्रकारिता सुरु गरेकी हुन् । २०७२ सालसम्म कायाकैरनमा काम गरे । अभियान टेलिभिजन, रेडियो अर्पण, नमस्ते टेलिभिजन र रेडियो ध्रुवतारामा समेत उनले काम गरिकेका छन् । २०७० देखि २०७५ सालसम्म चितवनबाट इमेज टेलिभिजनमा आवद्ध भएर काम गरे । हाल कान्तिपुर टेलिभिजनको चितवन संवाददाताका रूपमा काम गरिसकेका उनी फोनिजको निवर्तमान संघीय सदस्यसमेत हुन् ।

अप्सरा समाल, उदयपुर
अप्सरा समाल उदयपुरमा रहेर लामो समयदेखि रेडियो पत्रकारित गरिसकेकी छन् । समालसँग सामुदायिक रेडियो उदयपुरमा पाँच वर्ष कार्यक्रम संयोजक तथा समाचार प्रमुखका रुपमा काम गरेको अनुभव छ । उनले सोही रेडियोमा चार वर्ष स्टेशन मेनेजर भएर कुशलतापूर्वक नेतृत्व गरेका छन् । फोनिज उदयपुरको अध्यक्ष हुँदै हाल प्रदेश १ को उपाध्यक्ष हुन् । उनी विभिन्न पत्रकारजन्य संस्थामा समेत आबद्ध छन् ।

बुङ्वाखा मासिक
बुङ्वाखा बान्तावा राई भाषामा प्रकाशन भइरहेको मासिक पत्रिका हो । २०६१ मङ्सिर २४ गते स्थापना भई पुसदेखि निरन्तर प्रकाशनकामा रहेको बुङ्वाखाको हालसम्म २०८ पूर्णाङ्क प्रकाशित भइसकेको छ । बुङ्वाखामार्फत बान्तावा भाषा, साहित्य र मातृभाषा पत्रकारिताको विकासमा टेवा पुगेको छ । मातृभाषा पत्रकारितामा उल्लेख्य योगदान गरेवापत ‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार–२०७० प्राप्त गरिसकेको बुङ्वाखा प्रेस काउन्सिल नेपालको वर्गीकरणमा १० वर्षदेखि नियमितरूपमा ‘क’ वर्गमा रहँदै आएको छ ।

यो पनि

फोनिजले तीन पूर्वअध्यक्षलाई अभिनन्दन गर्ने

प्रतिक्रिया सबै