१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

यायोक्खाका नेताहरुले भने- किरात प्रदेशको विरुद्धमा जाने दलहरुलाई आगामी निर्वाचनमा देखाइदिन्छौँ

 सोमवार, साउन २ २०७९  

काठमाडौं । किरात राई यायोक्खाका नेताहरुले किरात प्रदेशको विरुद्धमा जाने दलहरुलाई आगामी निर्वाचनमा देखाइदिने चेतावनी दिएका छन् । प्रदेश १ को नामकरणमारे बहस तीब्र भइरहेकै बेला यायोक्खाले सोमबार प्रदेशको नाम ‘किरात’ राख्न माग गर्दै मुख्यमन्त्री राजेन्द्र राईसमक्ष ज्ञापनपत्र बुझाएको थियो ।

१४ जिल्लाकै पहिचानपक्षर मानिसहरुको उपस्थितीमा आयोक्खाद्वारा मुख्यमन्त्री कार्यालय घेराउ गरिएको थियो । सुनसरीको धरानदेखि इटहरी हुँदै सयौं मोटरसाइकलको र्याली मुख्यमन्त्री कार्यालय र प्रदेशसभा भवन घेर्न पुगेका यायोक्खाका नेताहरुले प्रदेशको नाम किरात राख्नुपर्नेमा जोड दिएका हुन् । यायोख्खाका अध्यक्ष दिवस राईले प्रदेशको नाम किरात घोषणा गर्न सफल भए मुख्यमन्त्री राईलाई आफ्नो इतिहास पूर्खा भनेर चिनिने यलम्बरको उपाधिले सम्मान गर्ने पनि घोषणा गरे ।

‘जनताको अभिमत लिएर हामी आएका छौँ । किरात प्रदेश नामकरण सार्थक रुपमा तत्काल टुंगो लागोस् । यसको श्रेय यो मुलुकको, सिंगो प्रदेशको हाम्रो इतिहासको यलम्बरको रुपमा प्रदेशको यलम्बर तपाईलाई घोषणा गर्नेछौं,’ उनले भने । ‘यदि किरात प्रदेश नामकरण भएन भने त्यसको परिणाम के हुन्छ, भोलि देख्दै जानेछन् तिनीहरुले । यो आन्दोलन पहिचानको हो । एउटा सिंगो माटोसँग जोडिएको, पुर्खाको सन्ततिको भविष्यसँग जोडिएको छ । यो रगत र पसिनासँग जोडिएको छ । यो किरात प्रदेशको माग प्राप्त नगरेसम्म हजार वर्षसम्म किन लड्नु किन नपरोस्, हामी नरहेपनि हाम्रा सन्ततिले लड्नेछन् र भन्न चाहन्छौं प्रदेशको नाम किरात प्रदेश राख्न मुख्यमन्त्रीले पहल लिनुहोस् ।’

आफ्ना पूर्खाको चिहानबाट बनेको कारण १ नम्बर प्रदेशको माटोले पनि किरातलाई चिन्ने दाबी गर्दै उनले भने, ‘किराँत भनेको कुनै पनि जातीय साम्प्रदायीक कुरा होइन । यो सिंगो माटोको परिचय हो । यहाँको इतिहास, सभ्यता, भूगोल, भाषा सबै हिसावले किरातसँग यसको विरासत जोडिन्छ । यहाँको सिमे, भूमे, खोला, वनजंगलदेखि सारा मनोविज्ञान हाम्रो किरात समुदायको भावना जोडिन्छ । हाम्रो मुन्धुम जोडिन्छ । हाम्रो पिता पुर्खाहरू जोडिन्छ ।’

‘हाम्रो पुर्खाहरुको चिहानले भन्छ यो माटो किरात हो । कसैले इतिहास सम्झेर कसैले नढाँटी भित्र मनमा आत्मामा एकपटक सम्झने हो भने यो माटोमा उभिनेले किरात नै सम्झन्छ । यति पुरानो सभ्यता र संस्कृति बोकेको यो माटोलाई आज दिनदहाडै विभक्त पार्ने प्रयास गरिरहेको छ यसको हामी घोर भत्र्सना र विरोध गर्छौं । यति मात्रै होइन या माटोमा हामी किरात प्रदेश घोषणा गरेरै छोड्छौँ । यो संकल्प पनि गर्न चाहन्छौं ।’

नामकरण किरात नभए आन्दोलन
त्यसक्रममा उनीहरुले मुख्यमन्त्री कार्यालयभित्रै ‘१ नम्बर प्रदेश किरात प्रदेश’ भन्दै नाराबाजी पनि गरेका थिए । ज्ञापनपत्र बुझाउने क्रममा किरात राई यायोख्खाका महासचिव जनक राईले प्रदेशको नामकरण किरात नभए आन्दोलन गर्ने चेतावनी दिए । ‘१ नम्बर प्रदेशसभामा प्रदेशको नामकरणको लागि निर्णायक छलफल चलिरहेकोप्रति गम्भीर ध्यानाकर्षण गर्दै विभिन्न कालखण्डमा भएको राजनीतिक, सामाजिक आन्दोलन र वर्तमान संविधानको भावना, नेपालकै प्राचिन इतिहास, भूगोल, सभ्यता र संस्कृतिको आधारमा र १ नम्बर प्रदेशको आम प्रदेशवासीको चाहना अनुसार १ नम्बर प्रदेशको नाम किरात प्रदेश नामकरण गर्न गराउनुहुन जोडदार माग गर्दै कथंकदाचित् जनताको भावना विपरीत पहिचानलाई निस्तेज गर्ने गरी नामकरण गरिए जुनसुकै प्रकारको कडाभन्दा कडा आन्दोलन गरिने जानकारी गराउँदै यसबाट सिर्जना हुने असहज परिस्थितिको जिम्मेवार स्वयं प्रदेश सरकार, राजनीतिक दल र सरोकारवाला निकाय हुने जानकारी गराउन चाहन्छौं’, उनले भने ।

प्रदेशको नाम ‘किरात’ नराखे देश विखण्डनमा जान्छ
मुख्यमन्त्री राईले नै प्रदेश का का मुख्यमन्त्री राजेन्द्र राईले प्रदेश १ को नाम ‘किरात’ नराखे देश विखण्डन सम्म पुग्ने बताएका छन् । यायोख्खाको टोलीलाई सम्बोधन गर्दै मुख्यमन्त्री राईले प्रदेश १ को नाम किरात नराखे ठूला ठूला लडाईं र झगडा हुने बताएका हुन् । आफू किरातको पक्षमा रहेको भन्दै किरातको पक्षमा उठेको आन्दोलनमा मूलधारका पार्टी र नेताहरुले कम आँकेको बताए । ‘अहिले मूलधारका पार्टी र नेताहरु पहिचानविरोधी नाम राख्न लागेका छन् । स्थिति खराब आयो भने तपाइँहरु सडकमा उत्रिन जरुरी छ । मेरो कार्यकाल मंसिरसम्म हो । मंसिरपछि आन्दोलन गर्न तपाईंहरुको साथमा आउने छु ।’

उनले प्रदेशको नाम किरात नराखे विस्तारै आन्दोलन उठेर भुसको आगो जसरी सल्किँदै जाने चेतावनी पनि दिए । ‘अहिले तत्कालै कत्रो आन्दोलन उठ्छ ? समय पनि लाग्ला, तर यो तुष भुसको आगा सल्किए सल्किँदै जाने छ’ मुख्यमन्त्री राईले भने ‘भोलि कुनै पनि बेला ठूला ठूला लडाइँ झगडाको अवस्था आउने मात्र होइन, भोलि देश नै विखण्डनको अवस्था आउनसक्छ।’

किरात प्रदेश नाम राखेर देशमा शान्ति हुन्छ भने दिनुपर्ने पनि बताएका बताए । ‘किरात प्रदेश राखेर देशमा शान्ति हुन्छ भने किन नदिने त ?’, उनले भने । पुरानो इतिहास, पुराना कागज तमसुक, पुराना ढड्डामा किरात भन्ने शब्द लेखिएकोले किरात प्रदेश न्यायोचित रहेको उनले बताए। किरात भन्ने शब्द उहिल्यैको कागजपत्रमा रहेको उनको भनाई छ ।

‘उहिल्यै वल्लो किरात, पल्लो किरात र माझ किरात भन्ने थियो । सक्ने भए तीनवटै राज्य बनाऊ होइन भने सबैलाई मिलाउँदा किरात हुन्छ। त्यही किरात प्रदेश दिँदा केही बिग्रिन्छ छ ?’ मधेश प्रदेश नाम राख्दा पनि केही नबिग्रिएको उदाहरण दिँदै भने, ‘मधेश प्रदेश राख्दा केही बिग्रिएको छ त ? दिँदा केही बिग्रिँदैन, तर नदिँदा यहाँ अशान्ति हुन्छ, मान्छे असन्तुष्ट हुन्छ, विद्रोहको भावना आउँछ भने त्यो किन नदिने ? त्यस्तो मूर्खता कुरा पनि गर्ने हो ?’ पहिचानविरोधी नाम आउनसक्नेतर्फ सचेत रहन आग्रह गर्दै मुख्यमन्त्री राईले पहिचानको पक्षमा नदेखिएका समूहलाई फकाउने वा दबाउनतर्फ लाग्नुपर्ने बताए ।

माओवादीले जनयुद्धको बेलादेखि पहिचानको आधारमा नामकरण गरिनुपर्ने एजेण्डा रहेको सुनाउँदै उनले भने, ‘माओवादीले त अभ्यास नै गरेको थियो । चुनावको बेलामा पनि गरेको हो । एमालेले पनि चुनावमा जनता समक्ष जाने क्रममा बहुपहिचानको आधारमा राख्ने कुरा गरेको छ । पार्टीको महाधिवेशन र दस्तावेजमा पनि एकीकृत समाजवादीले पनि पहिचानको आधारमा माग राखेको छ । त्यसैले ढिलो नगरि पहिचानको आधारमा प्रदेशको नामकरण गरिनुपर्दछ ।’ जनतालाई आस्वासन मात्र दिएर पहिचानको आधारमा भाग्न नहुने उनले बताए ।

प्रदेश नं १ को प्रदेशसभाले यसै अधिवेशनबाट प्रदेशको नामकरण गर्ने तयारी गरेको छ । मुख्यमन्त्री राईलाई ज्ञापन पत्र बुझाएपछि यायोक्खाका टोली प्रदेशसभाको कार्यालय पनि पुगेका थिए । प्रदेशको नामकरणको विषय पेचिलो बन्दै गइरहेको छ । प्रदेश सभाको पहिलो कार्यकाल सकिन लाग्दा पनि प्रदेशले अझै आफ्नो नाम समेत टुङ्ग्याउन सकेको छैन । घेराउ कार्यक्रममा १४ जिल्लाकै मानिस भेला भएका थिए ।

उनीहरुले नामकरणका लागि घनिभूत छलफलमा रहेका राजनीतिक दलले पहिचान र सभ्यताका विषयमा कुनै चासो नराखेको र सुन्नै नचाहेको बताएका छन् । विशेषगरी नेपाली कांग्रेस र नेकपा (एमाले) कोशी, सगरमाथा, सप्तकोशीलगायत नामकरण गर्नुपर्ने पक्षमा देखिएका छन् । भने नेकपा (माओवादी केन्द्र), एकीकृत समाजवादी पार्टी, जनता समाजवादी पार्टी र लिम्बुवान पक्षधर पार्टीहरूले भने पहिचानकै आधारमा हुनुपर्ने बताउँदै आएका छन् ।

यो पनि

प्रदेश-१ को नाम ‘किरात’ नराखे देश विखण्डनमा जान्छ : मुख्यमन्त्री राई

 

किरात प्रदेश नामकरणको माग गर्दै यायोक्खाद्वारा मुख्यमन्त्रीको कार्यालय घेराउ

प्रतिक्रिया सबै