१० श्रावण २०८१, बिहीबार Thursday 25 July, 2024

जनप्रतिनिधिलाई रेशम चौधरीको सुझाव- ‘जनताको शासक होइन सेवक बन्नुहोला’

 सोमवार, असार १३ २०७९  

काठमाडौं । रेशम चौधरीलाई जलेमै गएर कैलालीको स्थानीय तहमा निर्वाचित नागरिक उन्मुक्ति पार्टीका प्रमुख र उपप्रमुखले भेट गरेका छन् ।

नागरिक उन्मुक्तिका उम्मेदवारहरूले कैलालीको चार पलिकाको प्रमुख र तीन पालिकाको उपप्रमुखमा जित हासिल गरेका थिए । निर्वाचन भएको करिब २ महिना पछि सामूहिक रूपमा आज रेशम चौधरीलाई डिल्लीबजारस्थित कारागारमा भेट्न पुगेका हुन् ।

टिकापुर नगरपालिकाको प्रमुख रामलाल डगौरा, जोशीपुर गाउँपालिकाका अध्यक्ष चित्रबहादुर चौधरी र उपाध्यक्ष रेखादेवी कठरिया, भजनी नगरपालिकाका प्रमुख केवल चौधरी र उपप्रमुख राजु तिरुवा र जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी र उपाध्यक्ष लालमति रावतले रेशम चौधरीलाई भेटेका हुन् ।

करिब २ घण्टा उनीहरूबीच छलफल भएको छ । छलफलका क्रममा पार्टीका जनप्रतिधिहरूले अहिलेको अवस्थाबारे चौधरीलाई जानकारी गराएका थिए । सबैको प्रतिक्रिया सुनेपछि चौधरीले जनप्रतिनिधीहरूलाई राम्रो काम गर्न सुझाव दिए । रेशम चौधरीले जनप्रतिनिधिलाई भनेका थिए- ‘जनताको साशस होइन सेवक भएर काम गर्नुहोला ।’

जनप्रतिनिधि हिजो नै काठमाडौं पुगेका थिए । केही प्रतिनिधिले हिजो पनि चौधरीलाई भेटेका थिए । आज भने सामूहिक रूपमा भेट गरेका हुन् । सो क्रममा स्थानीय तहले राम्रो नीति तथा कार्यक्रम ल्याएको समेत चौधरीले बताएका थिए । चौधरीले स्थानीय तहका प्रमुख र उपप्रमुखलाई कारागारबाटै नीति तथा कार्यक्रमको पनि सुझाव दिए ।

यस्तै चौधरीले अब पार्टीलाई कैलालीमा मात्र सीमित राख्न नहुने पनि बताए । आगामी प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा पनि जित्ने गरी तयारीमा लाग्न पनि उनले निर्देशन दिएका थिए ।

‘पार्टी कैलालीमा मात्र नभइ देशव्यापी रूपमा लैजान उहाँले सुझाव दिनु भयो’ रेशम चौधरीलाई भेटेर फर्किएका टीकापुर नगरपालिकाका प्रमुख रामलाल डगौराले भने, ‘त्यहाँ पनि जित्ने गरी लाग्नुहोला भन्नुभएको छ ।’

कानुनी अड्चनले आफ्नो नाममा पार्टी दर्ता गर्न नपाएपछि रेशमकी श्रीमती रन्जिता श्रेष्ठले नागरिक उन्मुक्ति पार्टी दर्ता गराएकी हुन् । गत माघमा निर्वाचन आयोगमा दर्ता भएको पार्टीले कैलालीमा १३ मध्ये चार पालिकामा जित हात पारेको थियो ।

स्थानीय तह निर्वाचनको परिणामले हौसिएको पार्टी अहिले संसदीय निर्वाचनमा केन्द्रित छ । २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट भारी मतले विजयी भएका थिए । अहिले उनी कारागारमा छन् । अबको प्रतिनिधिसभा सदस्यमा उनका श्रीमती चुनाव लड्ने तयारीमा छन् ।

यो पनि

नागरिक उन्मुक्तिमा प्रवेश गर्दै लक्ष्मण थारुले भने- निर्दोष रेशम चौधरीलाई राज्यले फसायो

 

जेलभित्रै बाबुराम भट्टराई र रेशम चौधरीको वार्ता

जेलबाटै रेशम चौधरीले भने- ‘टीकापुर घटनाका दोषीलाई राज्यले नै जोगाएर पुरस्कार दिएको छ’

प्रतिक्रिया सबै